२०८३ असार ४ , बिहिवार

पुर्पक्षका लागि थुनामा पठाइएका दिपक भट्टको करोडौं मूल्य पर्ने गाडी जफत

Dipak-Bhatta

सुनाखरी न्युज/ काठमाडौं ।

सम्पत्ति शुद्धीकरणको कसुरसहित विभिन्न कसुरमा पुर्पक्षका लागि पठाइएका दिपक भट्टको करोडौं पर्ने गाडी पनि जफत भएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अभियोग दायर गर्दा उक्त गाडी पनि पेस गरेको थियो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उक्त गाडी अब जफत हुन्छ।

‘अहिले व्यवस्थापन विभागमा पठाउनू भन्नुको अर्थ गाडी जफत भएको हो,’ उनले भनिन्, ‘अब विभागले त्यस गाडीको व्यवस्थापन गर्छ।’त्यस्तै, अदालतमा पेस भएका मोबाइललाई अदालतको जिन्सीमा आम्दानी बाँध्न भनिएको छ।  विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबारको सुनुवाइपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। त्यसपछि भट्टलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

यसै मुद्दामा संलग्न सुलभ अग्रवाललाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।  उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारको व्यवस्था मिलाउन आदेश दिइएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूविरुद्ध अनुसन्धान गरी सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र तथा विदेशी विनिमय ऐनअन्तर्गतका विभिन्न कसुरमा मुद्दा दायर गरेका थिए। दिपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडभन्दा बढी र सुलभ अग्रवालविरुद्ध २५ अर्बभन्दा बढी बिगो कायम गरिएको अदालत स्रोतले जनाएको छ।