
सुनाखरी न्युज/ काठमाडौं ।
जाजरकोटकी २७ वर्षीया साराकुमारी शाही ( शर्मिला) आफूलाई क्षर्तिपूर्ति नदिएको भन्दै बच्चा बोकेर ८ दिनदेखि काठमाडौं माइतीघर मण्डलमा धर्ना बसिरहेकी छन्। उनले धर्ना बस्न थालेपछि ५ दिनअघि गृहमन्त्री सुधन गुरूङ भेट्न पुगेका थिए। माघको अन्तिम साता सुत्केरी हुने दिन नजिकिँदै गर्दा बच्चाको हेरचाह र क्षतिपूर्ति दिलाउने आाशासहित सरकारले सडकबाट उठाएको थियो।
तर सुत्केरी भएको तीन महिना बित्दा समेत कुनै सहयोग पाएकी छैन। साराकुमारी मंसिर २५ गतेदेखि आफूमाथि बलात्कार भएपछि गर्भवती भएको भन्दै माघको अन्तिम सातासम्म माइतीघरमा धर्ना बसेकी थिइन्। माघको अन्तिम सातामा उनको आरोपी दार्चुलाका भुपेन्द्रसिंह ठगुनालाई प्रहरीले नियन्त्रणमा लियो । साराकुमारीले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन्। उनको मुद्दा त्यही जिल्ला अदालतमा विचाराधीन छ।
आरोपीलाई पक्राउ गरेर थुनामा पठाएपछि कानुनी कारबाही हुन्छ, क्षर्तिपूर्ति दिलाउँछौं भनेपछि धर्ना तोडेको थिएँ, उनले भनिन्, धर्ना तोडेर गाउँ गएर बसेको थिएँ, तीन महिनाअघि बच्चा जन्मियो तर कहीँ कसैले एक रूपैयाँ सहयोग गरेनन् । ठगुन्नाको परिवारले कुटपिट गर्ने, सामाजिक सञ्जालमा नाङ्गो फोटोहरू बनाएर हालिदिने, माइती पक्षलाई धम्की दिने गरे, उनले भनिन्, कतै बस्न नसक्ने भएपछि सडकमा आएँ।