२०८३ असार ३ , बुधवार

नागढुङ्गा सुरुङमार्ग साउनदेखि सञ्चालनको तयारी, यस्तो छ गुड्ने सवारीको शुल्क

1700569818_1689736850_hu-n-1200×560-1200×560-1

सुनाखरी न्युज/ काठमाडौं ।

नागढुङ्गा – नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नौबिसे- नागढुंगा सडकखण्डमा वर्षौँदेखि हुँदै आएको सवारी जाम र आउजाउको सास्ती धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ।नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।

‘सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको छ । सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ’, उनले भने, ‘सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी छ ।’बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड रुपैयाँको लागतमा ५ वर्षका लागि यसको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मेवारी पाएको छ। यो कम्पनीले वर्षको ३६५ दिन नै चौबिसै घण्टा सेवा दिनेछ भने सुरुङमार्ग व्यवस्थापनका लागि कुल १५० जना जनशक्ति खटाइनेछ।

काठमाडौँ भित्रिने र बाहिरिने नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब ८ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले यो सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको छ। यद्यपि, सुरक्षाका कारण यो सुरुङमार्गमा दुई पाङ्ग्रे  ( मोटरसाइकल र स्कुटर )  सवारीसाधनलाई भने चलाउन पाइने छैन। सवारीसाधनबाट सङ्कलन भएको दस्तुर रकम व्यवस्थापक कम्पनीले सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ।

यस्तो छ सुरुङमार्गको प्रयोग गर्दा लाग्ने शुल्क

सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरेर नागढुङ्गा–नौबिसे सुरुङमार्गको शुल्क निर्धारण गरिसकेको छ। सवारीसाधनको क्षमताअनुसार छुट्टाछुट्टै दस्तुर तय गरिएको छ। कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ। मिनीबस, मिनी टिपर र मिनी ट्रकका लागि काठमाडौँ भित्रिँदा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर लाग्नेछ।

त्यसैगरी, ठूला बस र ट्रक  ( सिङ्गल रियर एक्सल)  का लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० दस्तुर तोकिएको छ । त्यसैगरी, काठमाडौँबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने रु २५० दस्तुर तोकिएको छ ।