२०८३ असार ३ , बुधवार

अध्ययन बिदा दुरुपयोग गरी रकम फिर्ता नगर्ने प्राध्यापकलाई १५ दिनको अल्टिमेटम

Tribhuwan-UNiversity-TU

सुनाखरी न्युज/ काठमाडौ ।

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई तलब भत्ता फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयले  १५ दिनको समय दिएको छ ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गरेर अन्तिम पटक १५ दिनको समय दिइएको हो ।

 

‘अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका र फर्की पूरा अवधि सेवा नगर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्पर्कमा आउन सूचना प्रकाशित गरेका छौँ,’ काफ्लेले भने, ‘विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।’

काफ्ले नेतृत्वको समितिलाई नफर्किएका प्राध्यापकको खोजबिन गर्न र रकम फिर्ता लिन असारसम्मको समय दिइएको थियो । १५ दिनसम्म पनि नआएमा समितिले हालसम्म रकम फिर्ता गर्ने र नफर्किएकाको विवरणसहितको प्रतिवेदन विश्वविद्यालय नेतृत्वलाई बुझाउने छ ।

 

सरकारले समेत अध्ययन बिदामा गएर नफर्किनेलाई कानुनी दायरामा ल्याउन तदारुकता दिएपछि रकम फिर्तासँगै नफर्किएका प्राध्यापकलाई सम्पर्कमा आउन १५ दिनको समय दिइएको हो ।