
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिका र इरानबीच लामो समयदेखिको तनाव अन्त्य गर्दै शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको छ। सम्झौताको घोषणापछि एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ।युद्धविरामको सहमतिपछि स्ट्रेट अफ होर्मुज खुल्ने भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।
विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा झरेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात ४.७२ प्रतिशतले घटेर ८०.८७ डलर कायम भएको छ ।पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार आगामी जुन १९ मा स्विट्जरल्यान्डमा सम्झौतामा औपचारिक हस्ताक्षर गरिने कार्यक्रम तय भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत सम्झौताको पुष्टि गर्दै अब विश्वव्यापी तेल आपूर्ति पुनः सहज हुने बताएका छन्।
ट्रम्पका अनुसार सम्झौतापछि विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा आउनेछ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि उक्त मार्ग बन्द भएको थियो। विश्वको कुल कच्चा तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको बन्दले विश्व ऊर्जा बजारमा गम्भीर असर परेको थियो। इरानले उक्त क्षेत्रमा आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रभावित भएको थियो।
अमेरिका–इरान द्वन्द्वका कारण पछिल्ला केही महिनादेखि विश्व ऊर्जा बजारमा तीव्र उतारचढाव देखिएको थियो। युद्ध सुरु हुनुअघि प्रतिब्यारेल ७० डलर आसपास रहेको ब्रेन्ट क्रुडको मूल्य द्वन्द्व उत्कर्षमा पुग्दा १२० डलरसम्म उक्लिएको थियो। हाल शान्ति सम्झौताको खबर सार्वजनिक भएसँगै ऊर्जा बजारमा राहतको संकेत देखिएको छ।