
सुनाखरी न्युज/ काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काममा कुनै पनि प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्। आइतबार आयोजना क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तार कार्यमा भइरहेको ढिलाइ, विशेषगरी विद्युत् पोल स्थानान्तरण प्रक्रियाको सुस्त गतिप्रति असन्तोष व्यक्त गरेका थिए।
उनले सम्बन्धित ठेकेदारलाई तत्काल काममा सक्रिय बनाउन निर्देशन दिँदै कडा टिप्पणी गरेका थिए।अनुगमनका क्रममा मन्त्री लम्सालले आक्रोश व्यक्त गर्दै “काम नगरे खुट्टा भाँचिदिनु” भन्ने अभिव्यक्ति समेत दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।
केहीले विकास निर्माणमा देखिएको सुस्त गतिप्रति मन्त्रीको असन्तुष्टि र कडा चेतावनीका रूपमा व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिले हिंसात्मक भाषा प्रयोग गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्। उनले निर्माण कार्यलाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई समन्वय र सहकार्यका साथ अघि बढ्न निर्देशन दिएको जनाएका छन्। नागढुङ्गा–मुग्लिन सडक आयोजना विभिन्न प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय समस्याका कारण लामो समयदेखि प्रभावित हुँदै आएको छ।