
सुनाखरी न्युज/ काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनाल आज ( आइतबार ) उत्तरी छिमेकी मुलुक चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्।चिनियाँ विदेशमन्त्री वाङ यीको आधिकारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण आगामी असार ३ गतेसम्म जारी रहनेछ।चीनस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल आजै बेइजिङ ओर्लने कार्यतालिका रहेको छ।
भ्रमणको पहिलो दिन आजै साँझ ५ बजे चीनमा रहेका नेपाली समुदाय, बुद्धिजीवी तथा व्यवसायीहरूसँग मन्त्री खनालले विशेष अन्तरक्रिया गर्नेछन्।यस भ्रमणका क्रममा नेपालले केही महत्त्वपूर्ण र संवेदनशील भूराजनीतिक तथा आर्थिक एजेन्डाहरूलाई मुख्य रूपमा उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार हालैको भारत भ्रमणका क्रममा मन्त्री खनालले लिपुलेक क्षेत्रबाट भारत र चीनले संयुक्त रूपमा खोलेको व्यापारिक मार्गको विषय उठाएका थिए।
उक्त त्रिदेशीय सीमा र व्यापारिक मार्गको विषयले यस पटकको चीन भ्रमणमा पनि प्राथमिकता पाउने निश्चित छ। यसका साथै नेपाल र चीनबिच विगतमा भएका सम्झौताहरूको कार्यन्वयन, सीमा नाकाहरूको स्तरोन्नति, बेल्ट एन्ड रोड इनिसिएटिभ ( बीआरआई ) अन्तर्गतका आयोजनाहरूको गति र दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका उपायहरूबारे विस्तृत रूपमा संवाद हुनेछ। नयाँ सरकार गठन भएपछि र रास्वपा नेता खनालले परराष्ट्र मन्त्रालयको कमान्ड सम्हालेपछि दुवै छिमेकी मुलुकहरूसँग सन्तुलित र परिणाममुखी कूटनीतिक सम्बन्ध स्थापित गर्ने सरकारको नीतिको रूपमा यो भ्रमणलाई लिइएको छ।