
सुनाखरी न्युज/ काठमाडौं ।
इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन्।
टेस्लाका मालिका मस्कको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपिओ जारी गरी ७५ अर्ब डलर उठाएपछि इलन मस्क एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्न चरणमा पुगेका हुन्।
मस्कको कुल सम्पत्ति १।१ ट्रिलियन अमेरिकी डलर नाघ्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रोयटर्सले कम्पनीका कागजात र वित्तीय तथ्यांकका आधारमा गरेको गणनाअनुसार शुक्रबार सेयर कारोबार सुरु भएपछि मस्कको सम्पत्ति १।१ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ।
यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब ७८० अर्ब डलर रहेको अनुमान गरेको थियो।
मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेस एक्समा केन्द्रित छ। रिपोर्टअनुसार कम्पनीमा रहेको उनको हिस्सेदारीको मूल्य मात्रै करिब ८६६ अर्ब डलर बराबर छ। यसबाहेक इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्य व्यवसायहरूबाट समेत उनको सम्पत्ति तीव्र गतिमा बढेको हो।
फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटका अनुसार मस्कको सम्पत्ति दोस्रो धनी व्यक्तिभन्दा झन्डै तीन गुणा बढी हुनसक्छ।
‘दोस्रो धनी व्यक्तिको सम्पत्ति करिब ३०० अर्ब डलर आसपास छ, जुन मस्कको सम्भावित सम्पत्तिको एक तिहाइभन्दा कम हो,’ उनले भनेका छन्।
हाल मस्कपछि ल्यारी पेज प्रमुख धनीहरूको सूचीमा छन्।
५४ वर्षीय मस्क दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका हुन्।
उनले अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट सन् सन् १९९७ मा अध्ययन पूरा गरेका थिए। सन् २००८ मा टेस्लाको नेतृत्व सम्हालेपछि उनले इलेक्ट्रिक गाडी उद्योगलाई नयाँ दिशातर्फ मोडेको श्रेय पाएका छन्।
विश्लेषकहरूका अनुसार टेस्लाको सफलताले परम्परागत अटो कम्पनीहरूलाई पनि विद्युतीय सवारीमा लगानी बढाउन बाध्य बनाएको हो।
टेस्ला र स्पेसएक्सबाहेक मस्कले अन्य पाँच कम्पनी सह–स्थापना गरेका छन्। तीमध्ये सुरुङ निर्माण कम्पनी द बोरिङ कम्पनी र मस्तिष्क प्रत्यारोपण प्रविधिमा काम गर्ने न्यूरालिंक प्रमुख छन्।
यद्यपि मस्कको प्रभाव र सफलता विवादरहित छैन।
सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर (हाल एक्स) खरिद गरेपछि उनी राजनीति, आप्रवासन, सरकारी खर्च र अभिव्यक्ति स्वतन्त्रता जस्ता विषयमा खुलेर टिप्पणी गर्ने व्यक्तिका रूपमा परिचित थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन ट्वीटरको प्रयोग गरेको आरोप पनि उनीमाथि छ।
पछि ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क ह्वाइट हाउसमा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी ९डोज० प्रमुख बनेका थिए। त्यतिबेला पनि उनी विवादित बनेका थिए।
सन् २०२५ मा विभिन्न अन्तर्राष्ट्रिय बजारमा टेस्लाको बिक्री घट्नुका साथै कम्पनीविरुद्ध प्रदर्शन र बहिष्कार अभियान चले पनि लगानीकर्ताहरूको मस्कप्रतिको विश्वास भने कायम रहेको देखिएको विश्लेषकहरू बताउँछन्।