
सुनाखरी न्युज/ काठमाडौं।
तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम रहेको छ भने नेपाली डायस्पोरासँग अन्तर्क्रिया पनि गर्नेछन् ।
मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन ।चीन बसाइका क्रममा मन्त्री खनालले त्यहाँका उच्चस्तरीय सरकारी पदाधिकारीहरूसँग समेत शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ ।
यसैगरी, भ्रमणकै सिलसिलामा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन् । सो क्रममा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले चिनियाँ व्यावसायिक समुदायसँग विशेष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।