प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी
Posted on:
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ । छलफलमा सहभागी हुँदै सांसदहरूले बजेटको पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गर्नुभएको हो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद डा कृष्णहरि बुढाथोकीले बजेटले उद्यमशीतलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेसका सांसद शाहजान खातुनले भन्सार महसुल पहिलाको भन्दा ४० प्रतिशत बढी भएको जनाउँदै भन्सार महसुल अनुमानअनुसार हुने आधार प्रष्ट पार्न अर्थमन्त्रीसँग आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद गणेशसिंह ठगुन्नाले देशको समानुपातिक विकास गर्ने सोच भए पनि विकासको आवश्यकता भएका जिल्ला बझाङ, बाजुरा, डोटी, अछाममा बजेट नपरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सीमा क्षेत्रमा बजेट छुट्याउने कुरा भएपनि प्राथमिकता नदिएको धारणा राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद पशुराम तामाङले बजेटले धनी र गरिबबीचको खाडल झन बढाएको बताउँदै पहाडमा जङ्गली जनावर नियन्त्रण गर्नुका साथै पहाडमा आर्थिक गतिविधि बढाउनुपर्ने सुझाव दिनुभयो । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बजेट जनताका समस्या समाधान गर्नेतर्फ हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै धरानका जनताले खानेपानी नपाएको विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद डा अमरेशकुमार सिंहले बजेटमा शिक्षामा कर लगाइएको विषयप्रति असहमति जनाउँदै मौलिक अधिकारमाथि कर लगाउन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले कर्मचारीको तलब बढे पनि आमजनताका लागि राहतको प्रभावकारी कार्यक्रम नभएको गुनासो गर्नुभयो ।
नेपाली कांग्रेसकी सांसद सीता थपलियाले हरेक जिल्लामा नमूना विद्यालयको अवधारणा आउने अपेक्षा गरिएको जनाउँदै बजेटमा त्यस्ता कार्यक्रम नआएका बताउनुभयो । शिक्षामा कर लगाइएको विषयप्रति उहाँले आपत्ति प्रकट गर्दै ग्रामीण क्षेत्र र गाउँका किसानका लागि बजेटमा प्रभावकारी कार्यक्रम नआएको भनाइ राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद टुकाभद्र हमालले आगामी आवको बजेटले खास महत्वपूर्ण विषय समेट्न नसकेको धारणा राख्नुभयो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।