
सुनाखरी न्युज/ काठमाडौं ।
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज ( जेठ २८ गते ) देखि प्राथमिक शेयर ( आईपीओ ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख २१ गतेदेखि २५ गतेसम्म पहिलो चरणअन्तर्गत ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले १७ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले असार २ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।