२०८३ जेठ २६ , मंगलबार

चलचित्र ‘आइ एम जीत बहादुर’ असार ५ बाट प्रदर्शनमा आउने

I-am-jit-bahadur-1536×864

 

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।प्राप्त प्रमाणपत्रअनुसार चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी नेपालभर प्रदर्शनको अनुमति दिइएको छ।कर्मभूमि क्रिएशन प्रा।लि।को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण जितु नेपाल स्वयंले गरेका हुन्।

जसमा कार्यकारी निर्माताको रुपमा निरज नेपाल र निश्चल कुवँर रहेका छन्। चलचित्रका निर्देशक भारतीय फिल्मकर्मी सुभेन्दु राज घोष रहेका छन्। चलचित्रको अवधि २ घण्टा १३ मिनेट रहेको प्रमाणपत्रमा उल्लेख छ। राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले गाउँबाट सपना बोकेर सहर आएका एक युवाले कलाकार बन्ने क्रममा भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ट्रेलरमा अभिनेता जितु नेपाल फरक भूमिकामा देखिएका छन्, जहाँ उहाँले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको चरित्र निर्वाह गर्नुभएको छ ।

चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सराह शर्मा, अंशु महर्जन, पवन खतिवडा बाबा , निरज नेपाल, राजन सिम्खडालगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको कथा तथा निर्देशन सुभेन्दु घोषले गरेका हुन् भने यसअघि सार्वजनिक भएका टिजर, ट्रेलर र शीर्ष गीतले दर्शकमाझ उत्साहजनक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ। चलचित्रको शीर्ष गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।

केन्द्रीय चलचित्र जाँच समितिले २०८३ जेठ २२ गते चलचित्रलाई प्रदर्शन अनुमति प्रदान गरेको हो। चलचित्र आगामी असार ५ गते ( जुन १९, २०२६ )  देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।चलचित्रको छायांकन भारतीय सिनेमाटोग्राफर अरविन्दले गर्नुभएको हो । पोस्ट–प्रोडक्सनको सम्पूर्ण कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।

‘आइ एम जीत बहादुर’को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म विशिष्ट पहिचान बनाएका जितु नेपालका लागि यो चलचित्र विशेष महत्वको रहेको बताइएको ।