
सुनाखरी न्युज / काठमाडौं ।
एसईई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाले सिरहामा विवाद चुलिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गरिनेछ । प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ । विद्यार्थी संगठनहरूले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारासहित आन्दोलन गर्ने बताएका छन्। उनीहरूले जफत गरिएका मोबाइल तथा स्मार्ट घडी नष्ट गर्नुको सट्टा कानुनी प्रक्रिया अपनाई क्षतिपूर्ति वा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरेको हो। प्रशासनका अनुसार सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो।बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहितको पाँच सदस्यीय समितिले मोबाइल नष्ट गरेको हो।
मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थी माथिको दमन अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहले भने, ‘प्रदर्शनको उद्देश्य सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै विद्यार्थीका माग सम्बोधन गर्न दबाब सिर्जना गर्नु हो ।’ यसअघि मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएकी थिइन् ।