२०८३ जेठ २२ , शुक्रवार

सिमकार्डको दुरूपयोग गरी ठगी गर्न दुई जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका- ४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर, ललितपुर महानगरपालिका(१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-८ घर भएका २५ वर्षीय सुभाष ओझा रहेका छन् ।

अनुसन्धानका क्रममा पीडित कान्छी लामाको नाममा रहेको मोबाइल नम्बर ६ वर्षअघि हराएको खुलेको छ। उक्त नम्बर लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक  ( हाल कुमारी बैंक )  मा खाता खोल्दा मोबाइल बैंकिङका लागि प्रयोग गरेकी थिइन्। सोही हराएको सिम कार्ड पछि रोशन पहाडीको नाममा पुनः जारी भएको र सिम सक्रिय भएपछि बैंक खाताको विवरण तथा म्यासेजहरू पहाडीको मोबाइलमा आउन थालेको पाइएको छ।

नम्बरमा बैंकको म्यासेज आउन थालेपछि रोशन पहाडी र सुभाष ओझाले मोबाइल बैंकिङ सेवा सूचारु गरी बैंक खातामा रहेको रकम विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारेर ईसेवा, खल्ती तथा अन्य बैंक खाताहरूमा ट्रान्सफर गर्न थालेका थिए।

उनीहरूले वि. सं.  २०८० असार २० गतेदेखि २०८२ असोज ९ गतेसम्मको अवधिमा मोबाइल बैंकिङको दुरुपयोग गरी कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।