
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको १० महिना बित्नै लाग्दा समग्र पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८२-८३ को बिहीबारसम्म पुँजीगततर्फ विनियोजित कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेटमा ३०.७२ प्रतिशत खर्च भएको छ ।
अर्थात् विनियोजित पुँजीगत बजेटमा १ खर्ब २४ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ मात्र खर्च भएको हो ।
गत आर्थिक वर्ष २०८१-८२ मा कुल विनियोजित पुँजीगत बजेट ३७।७२ प्रतिशत खर्च भएको थियो । चालु आर्थिक वर्षमा बजेट विनियोजन गर्दा मन्त्रालय मर्ज भइसकेका थिएनन् । पहिला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या २२ थियो । अहिले भने १८ मन्त्रालय छन् ।
३० प्रतिशतभन्दा कम पुँजीगत खर्च गर्नेमा एक दर्जन मन्त्रालय छन् । यसमा सबैभन्दा कम पुँजीगत खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन ९हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन० मन्त्रालय छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ ७५ करोड ६२ लाख रुपैयाँ विनियोजन भएकामा २ करोड ३९ लाख रुपैयाँ मात्र खर्च भएको छ । अर्थात् विनियोजनमा ३.१६३ प्रतिशत मात्र खर्च भएको हो ।