
सुनाखरी न्युज/ काठमाडौं ।
एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो ।मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको भुटान २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटियो ।
भुटानका डिचेन वाङ्गमोले अविजित ३९ र चाडो ओमले ११ रन बनाए । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक तीन विकेट लिइन् । रिया शर्माले दुई, कविता कुँवर र मनीषा उपाध्यायका नाममा एकरएक विकेट रह्यो ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो । नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे ।
भुटानकी छिरिङ जाङ्गमो र सोनामले तीनरतीन विकेट लिए । अन्जु गुरुङले दुई, रित्शी छोडेन र रिया प्रधानले एकरएक विकेट लिए ।नेपालले बुधबार पहिलो खेलमा कतारलाई हराएको थियो । अब अर्को खेलमा नेपालले शनिबार हङकङसँग खेल्नेछ ।