२०८३ जेठ २० , बुधवार

सीमा नाकाबाट ५ सय रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार नलाग्ने

FB_IMG_1762587829455-1068×801-1-696×522

 

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले स्थलमार्ग हुँदै सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणका लागि वस्तु आयात- निर्यातको सीमामा केही परिवर्तन गरेको छ।नयाँ व्यवस्थाअनुसार अब ५०० रुपैयाँसम्मको वस्तु ल्याउन पाइनेछ । यसअघि रहेको एक सय रुपैयाँ दरलाई परिमार्जन गर्दे पाँच सय पुर्‍याइएको हो । अर्थ मन्त्रालयले राजपत्रमा नयाँ सूचना प्रकाशित गर्दै यो सीमा साविकको एक सयबाट बढाएको हो।

तर यो निर्णय एकाएक आएको होइन। केही साता अघिसम्म एक सय रुपैयाँभन्दा बढीको सामान भित्र्याउन नपाउने कडा नियम लागू हुँदा सीमा नाकाहरूमा तनाव उत्पन्न भएको थियो। स्थानीय व्यवसायीदेखि आम यात्रुसम्म आक्रोशित भए, मामिला संसद्भित्र पनि पुग्यो। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक रूपमा स्वीकार गरे कि यो नियम अघिल्लो सरकारको पालाको हो र छुट सीमा बढाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

अहिलेको निर्णय त्यही आश्वासनको कार्यान्वयन हो। नयाँ व्यवस्थाअनुसार भन्सार प्रमुखलाई औचित्य हेरी पाँच सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तुमा महसुल नलिई छाड्ने अधिकार दिइएको छ। यसका साथै भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ट्याब्लेट वा ल्यापटपमध्ये एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने पुरानो सुविधा यथावत राखिएको छ।

यद्यपि स्थलमार्गबाट आवतजावत गर्नेहरूलाई हवाईमार्गका यात्रुसरहको छुट भने अझै दिइएको छैन।“स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई यस सूचनामा उल्लेख भएका कुनै पनि सुविधा दिइने छैन । तर, पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लागेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ,” सूचनामा उल्लेख छ ।