
सुनाखरी न्युज/ काठमाडौं ।
मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । नेपालका लागि ओपनर विन्दु रावलले सर्वाधिक ३३ रनको योगदान दिइन्। उनले ३० बलमा ४ चौका हानिन्। अर्की ओपनर सम्झना खड्का ६ बलमा तीन रन बनाउँदै क्याच आउट हुन पुगिन्। उपकप्तान पूजा महतो २८ र कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहे।
त्यसअघि मलेसियाको मान्टिनस्थित कोलेज टुआन्कु जाफर क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कतार १६. ५ ओभरमा ७६ रनमा अलआउट भयो। कतारका लागि ओपनर तथा कप्तान गितरुन्डु चण्डिरूले सर्वाधिक २५ रन बनाइन्। आयशाले १० रन थपिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कतारलाई सस्तैमा रोक्न रुविना क्षेत्रीले तीन विकेट लिइन् । उनले ३. ५ ओभरमा मात्र आठ रन दिइन्। कविता कुवँर, रिया शर्मा र पूजा महतोले समान एक विकेट आफ्नो नाममा गरे। नेपालले भोलि भुटानसँग खेल्नेछ। प्रिमियर कपमा नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छन्। प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपालले अब बिहीबार दोस्रो खेलमा भुटानसँग खेल्नेछ ।