
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण मागेकोप्रति आक्रोश व्यक्त गरेका छन्। निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका ओलीले सम्पत्ति विवरण मागिएको भन्दै आपत्ति जनाए ।
“मेरो घरमा आगो लगाएर खरानी बनाएको छ । अब सम्पत्ति विवरण फारम भर्नुपर्यो अरे,” ओलीले भने, “खरानी उठाएर लैजा सरकार ।”आफूहरूले निर्वाचन परिणाम भने स्वीकारेको उनको भनाइ छ । “हामीले निर्वाचनको परिणाम स्वीकारेका छौँ । हामी अन्धविश्वासमा होइन आँखा खोलेर सबै चीजहरू हेर्छौं,” उनले भने ।
यस्तै, अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराए । नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरे ।
ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण समेत गराए । उनले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर पचाउन खोजेको आरोप लगाए । ‘यो सानोतिनो कुरा होइन, राष्ट्रको सम्पत्ति जलाउने जस्तो अपराधलाई बेवास्ता गर्न मिल्दैन,’ ओलीले भने ।