
सुनाखरी न्युज/ काठमाडौं ।
माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले प्रवद्र्धन गरेको ३५ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी तथा सञ्चित नाफाका आधारमा लाभांश प्रस्ताव गरिएको जनाएको छ ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ६३ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बोनस शेयर तथा ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत बराबर ७१ लाख ७७ हजार ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त लाभांश प्रस्ताव विद्युत् नियमन आयोग तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ । माण्डु हाइड्रोपावरले सोमबार बसेको सञ्चालक समिति बैठकमार्फत लाभांश वितरणको निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) लाई गराएको हो । लाभांश घोषणासँगै कम्पनीका शेयरधनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि नगद लाभांश पनि प्राप्त गर्नेछन्।