
सुनाखरी न्युज/ काठमाडौं ।
भोजपुरी फिल्मकी अभिनेत्री तथा मोडल मिताली शर्मा ठुला सपना बोकेर मुम्बई प्रवेश गरेकी थिइन् ।फिल्मी नगरी मुम्बईमा आफ्नो पुरा गर्न सङ्घर्ष गर्दागर्दै असहज परिस्थितिका कारण उनी सडकमा भिख माग्ने अवस्थामा पुगेकी छन् ।धेरै निर्माता तथा निर्देशकहरूले उनलाई एक उदीयमान कलाकारका रूपमा हेर्ने गर्थे । तर, समय सधैँ एकनास रहेन।
बिस्तारै उनलाई फिल्म अफरहरू आउन कम हुँदै गए र मुम्बई जस्तो खर्चिलो र प्रतिस्पर्धात्मक सहरमा टिक्न उनलाई धौ–धौ पर्न थाल्यो ।मुम्बई आएपछि मितालीको आफ्नो परिवारसँगको सम्पर्क बिस्तारै टुट्दै गयो । एकातिर आर्थिक सङ्कट र कामको अभाव, अर्कोतिर परिवारको साथ नहुँदा उनी एक्लोपनको सिकार भइन् ।
मुम्बईको लोखण्डवाला सडकमा अत्यन्तै दयनीय अवस्थामा भिख मागिरहेको भेटियो । कहिले पर्दामा मुख्य भूमिका निभाउने कलाकारलाई यसरी सडकमा देख्दा मानिसहरू चकित परेका थिए । प्रहरी कार्यालय पुरयाएपछि मितालीले सबैभन्दा पहिले खाना मागेकी थिइन् । उनको दयनीय शारीरिक र मानसिक अवस्था देखेर प्रहरी अधिकारीहरू पनि भावुक भएका थिए ।