
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले शुक्रबार घोषणा गरेको भन्सारमा भएको बृद्धिले बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य मात्रै बढे पनि भन्सार शुल्ककै कारण आज सुनको मूल्य २० हजार बढेको छ ।
२० हजार ५ सय रुपैयाँ प्रतितोला मूल्य बढेसँगै आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार घोषणा गरेको बजेटमार्फत सुनमा २ प्रतिशत विलासी कर हटाएर राहत दिएजस्तो गराई भन्सार दर दोब्बर बनाएका थिए । सुन मात्रै नभई चाँदीमा पनि भन्सार दर १० प्रतिशत विन्दुले बढाएर २० प्रतिशत पुर्याइएको छ ।
यसको प्रभावले चाँदी पनि उच्च दरले महँगिएको छ । आइतबार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँ रहेको चाँदी आज ५ हजार ३४५ रुपैयाँ पुगेको छ ।