२०८३ जेठ १५ , शुक्रवार

आज पनि देशैभर वर्षा, आइतबारदेखि सुधार हुनेछ मौसम

weather-1

 

सुनाखरी न्युज/ काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आज देशैभर वर्षाको सम्भावना औंल्याएका छन् । रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ । काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो । ‘अहिले केही कम भए पनि आज दिउँसो देशैभर वर्षा हुने सम्भावना छ । आजै राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना पनि छ,’ मौसमविद महर्जनले भनिन्, ‘केहीबेर रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ ।’गएराति काठमाडौं उपत्यकामा पनि ठूलो पानी परेको थियो ।

ललितपुरको खुमलटारस्थित अटोमेटिक स्टेसनले एक घण्टा अवधिमै ५४.८ मिलिमिटर वर्षा मापन गरेको थियो । तर आज बिहान हेर्दा खुमलटारको वर्षा मापन ५५.४ मिलिमिटर देखिएको थियो । गत २४ घण्टामा डडेलधुराको ज्यामिरखालीमा सबैभन्दा धेरै १४४ मिलिमिटर वर्षा भएको थियो । यसैगरी कैलालीको बुढिआममा ११४.८ मिलिमिटर वर्षा मापन भएको थियो । पूर्वी नवलपरासीको देउरालीमा ११७.२, पर्वतको पन्चासेमा १००, धनकुटाको पाख्रिबासमा ८९.४, सिन्धुपाल्चोकको गोब्रेमा ८० र काठमाडौंको बबरमहलमा ७७ मिलिमिटर वर्षा मापन भएको थियो ।

काठमाडौंमा वर्षाले सडकहरु जलमग्न हुँदा आउ–जाउ गर्न कठिनाइ भएको थियो ।मौसमविद महर्जनका अनुसार हिजो र आज सक्रिय पानी पार्ने प्रणाली आइतबारदेखि क्रमश सुधार हुँदै जाने सम्भावना छ । आइतबार पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने भए पनि तराईतिर पानी पर्न कम हुँदै जाने छ ।