
सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अतिक्रमित जग्गा फिर्ता गर्न दिइएको ३५ दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता गरेका छैनन् । त्रिविले जग्गा अतिक्रमणमा संलग्न १७ निकायलाई ३५ दिनभित्र जग्गा फिर्ता गर्न वैशाख ४ मा सूचना जारी गर्दै पत्राचार गरेको थियो ।
निमित्त उपकुलपति सुशीलबहादुर वज्राचार्यले अतिक्रमित जग्गा फिर्ता हुने प्रक्रियामा रहेको जनाए । ‘सरकारी र निजी क्षेत्रले लिएको जग्गाको तथ्यांक अध्ययन गर्दै छौं । प्राध्यापक र कर्मचारी संगठनले लिएको जग्गा फिर्ता गर्ने कुरा भएको छ,’ उनले भने, ‘अतिक्रमणमा परेका सबै जग्गा फिर्तालाई प्राथमिकता दिएका छौं ।’
कुनै पनि निकायबाट जग्गा फिर्ता नभएको त्रिवि सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राईले जानकारी दिए ।
त्रिवि कार्यकारी परिषद्ले प्राध्यापक, कर्मचारी संगठनलाई उपयोग गर्न दिएको जग्गा पेट्रोल पम्प, होटल, नर्सरी सञ्चालन गर्न भाडामा लगाइएको थियो ।