
सुनाखरी न्युज/ काठमाडौं ।
टेलि डिजिटल सर्भिसेज प्रा. लि. ले मेटासँगको सहकार्यमा नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापार (Conversational Commerce) र ह्वाट्सएप बिजनेस एपीआईको सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ‘द कनभरफरेन्स’ नामक विशेष उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको छ। रमेश कर्प अन्तर्गत सञ्चालित टेलि डिजिटलले जेठ ७ गते काठमाडौंमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टियोङले मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले हेरिरहेको बताए। कार्यक्रमका दौरान ह्वाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत स्तरको ग्राहक संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
टेलि डिजिटलका अनुसार विश्वव्यापी रूपमा व्यवसायिक म्यासेजिङको प्रयोग तीव्र रूपमा बढिरहेको छ। कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक साता एक अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने गरेका छन्। नेपालमा पनि ह्वाट्सएपको प्रयोग तीव्र रूपमा बढिरहेका कारण नेपाली व्यवसायहरूले एसएमएस र इमेलजस्ता परम्परागत माध्यमभन्दा बाहिर गएर प्रत्यक्ष, विश्वासिलो तथा मापनयोग्य ग्राहक संवादको अवसर उपयोग गर्न सक्ने विषय कार्यक्रममा विशेष रूपमा उठाइएको थियो।
कार्यक्रमले नेपालमा डिजिटल व्यापार र व्यवसायिक म्यासेजिङको विस्तारमा नयाँ बहस सुरु गर्नुका साथै ह्वाट्सएप बिजनेस एपीआईलाई आगामी दिनमा नेपाली बजारमा प्रभावकारी व्यापारिक उपकरणका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।