२०८३ जेठ ८ , शुक्रवार

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारले लगायो रोक

jam-koteshor

 

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता कार्यमा रोक लगाएको छ। यातायात व्यवस्था विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो ।

वायु प्रदूषण, इन्धनको मूल्यवृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गरिएको विभागले जनाएको छ । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ थपेकोले यस्तो निर्णय लिइएको विभागको भनाइ छ ।

इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने पत्रमा उल्लेख छ । विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई परिपत्र पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा  ( ३)  अनुसार सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै विभागले यस्तो निर्णय गरेको हो ।