
सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिएका छन्। बुधबार पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोधमा प्लेकार्ड देखाएपछि सभामुख अर्यालले चेतावनीसहित मर्यादित हुन निर्देशन दिएका हुन् । दलका नेता हर्कराज राई ( हर्क साम्पाङ) ले नियमावलीको नियम १५ को २ बमोजिम आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको सात दिन भित्र सम्बन्धित मन्त्रीले जबाफ दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका थिए।
श्रम संस्कृति पार्टीका सांसदहरुले बैठक सुरू भएलगत्तै आफूले ल्याएको पर्चा सुरुआतमा सभामुखलाई देखाएका थिए। लगत्तै उनीहरुले पर्चामा लेखिएको विषय पढेर सुनाएका थिए। माननीय सदस्य हर्कराज राई ९हर्क साम्पाङ०सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुले नियमति रुपमा सभाको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु,’ सभामुख अर्यालले भने । यसपछि समय लिएर हर्क साम्पाङले सरकारको कार्यशैली र जवाफदेहिताबारे आफूहरुले आवाज उठाएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले सम्बन्धित् मन्त्रीहरु सदनमा आएर जवाफ दिनुपर्ने जिकीर गरे ।
सोमबार पनि श्रम संस्कृति पार्टीका सांसदहरु प्लेकार्डसहित रोष्ट्रम घेराउ गरेका थिए भने मंगलबार पनि हर्क साम्पाङले प्लेकार्डसहित आफ्नो स्थानमा उभिएर विरोधमा उत्रिएका थिए । सो पार्टीले गृह, रक्षासहितको मन्त्रालय सम्हालेका प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएको छ ।