२०८३ जेठ ६ , बुधवार

विदेशीलाई गर्भवती बनाएर भागेको आरोप लागेका सांसदमाथि अनुसन्धान गर्न आशिका तामाङको माग

Aashika-Tamang

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा)  सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै प्रतिक्रिया दिएकी छन्।महिला विदेशी होस् चाहे स्वदेशी आखिर यो धर्तीको आमा भएको उल्लेख गर्दै सांसद तामाङले सो विषयमा बाहिर आएका कुराको अनुसन्धान गर्नुपर्ने माग राखेकी हुन् आफ्नो दलका सांसदमाथि प्रश्न उठेपछि उनले स्पष्ट रूपमा भनेकी छन्, ‘पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो ।

यहाँ कसैलाई अन्याय हुनुहुँदैन । यदि कसैले अन्याय गर्छ भने चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन ।’मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीको विषयलाई लिएर चौतर्फी चासो र आलोचना बढेपछि पार्टीले उनीसँग स्पष्टीकरण माग्न लागेको हो ।

रास्वपा स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए उनलाई कारबाही गर्नेसम्मको तयारी पार्टीले गरेको छ । पीडित २६ वर्षीया नाइजेरियाली युवती रिता अजुको हाल गर्भवती अवस्थामा छिन् र उनले आफूसँग खाने पैसा समेत नभएको गुनासो पोखेकी छन् । आफू गर्भवती भएको जानकारी पाएलगत्तै सांसद कार्की सम्पर्कविहीन बनेको उनको भनाइ छ । ठमेलमा बस्दै आएकी अजुको र कार्की लामो समयदेखि लिभिङ टुगेदर  ( सहजीवन )  मा रहँदै आएका थिए । युवतीका अनुसार उनको इच्छा नहुँदानहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका थिए ।