२०८३ जेठ ६ , बुधवार

असार १ गतेबाट ११ कक्षाको पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

edu-mantralaya

सुनाखरी न्युज/ काठमाडौं ।

कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ ।माध्यमिक शिक्षा ( एसईई)  को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो । ‘१ असारदेखि कक्षा सुरु गर्ने तयारी छ । फाइल तयार भएको छ ।

केही दिनमा निर्णय हुन्छ,’ शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीले भने ।यसवर्षको एसईईको नतिजा २९ दिनमा प्रकाशित भएको थियो । २८ वैशाखमा नतिजा प्रकाशित भएपछि अहिले विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन लागिएको हो ।

सामुदायिक र निजी विद्यालयहरूले पनि १ असारदेखि कक्षा सञ्चालन गर्नेगरी तयारी गरिरहेका छन् । यसवर्षको शैक्षिकसत्र १५ वैशाखबाट सुरु भएको थियो । ढिलागरी शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीको सिकाइमा प्रभावित नहुनेगरी योजना सरकारले ल्याएको छ । हिउँदे र वर्षे बिदा कटौतीका साथै शुक्रबार पनि पूरा समय पढाउने योजना सरकारले ल्याएको छ ।