२०८३ जेठ ६ , बुधवार

इरानसँगको युद्ध चाँडै सकिने ट्रम्पको दाबी

trump

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध निकै चाँडो अन्त्य हुने दाबी गरेका छन्। इरान सम्झौता गर्न चाहेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा इरानलाई परमाणु हतियार हासिल गर्न नदिने स्पष्ट पारेका छन्।

ट्रम्पले इरान अझै पनि आफ्नो परमाणु कार्यक्रममा केन्द्रित रहेको तर अमेरिकाले उसलाई परमाणु हतियार बनाउन नदिने दाबी गरे।

ह्वाइट हाउसमा सांसदहरूको एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी त्यो युद्ध धेरै चाँडै अन्त्य गर्न गइरहेका छौँ। उनीहरू सम्झौता गर्न चाहन्छन्। उनीहरू यसबाट थाकिसकेका छन्।’

 

अमेरिकी सिनेटमा इरानविरुद्धको युद्ध रोक्नेसँग सम्बन्धित ‘वार पावर रिजोलुसन’ (युद्ध शक्ति प्रस्ताव) अघि बढाइएको पृष्ठभूमिमा उनले उक्त कुरा बताएका हुन्। रिपब्लिकन बहुमत रहेको सिनेटले मंगलबार उक्त प्रस्तावमाथि अघि बढ्ने पक्षमा मतदान गरेको थियो। यसमा कंग्रेसको स्पष्ट स्वीकृतिविना राष्ट्रपतिले इरानविरुद्धको युद्ध जारी राख्न नसक्ने उल्लेख छ।