
सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार काठमाडौँको माइतीघरमा वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण चरम अन्योलमा परेको भन्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको छनोट कार्यविधि बनाउन आलटाल गरेका कारण नेपालले पाएको इजरायलको दुई हजार कोटा नै गुम्ने अवस्थामा पुगेको छ ।
हालै सञ्चारमाध्यमहरूमा इजरायलका लागि २ हजार ३०० नयाँ कोटा खुल्न लागेको र पुराना उम्मेदवारहरूले पनि फेरि सुरुदेखि नै ’लकी ड्र’ प्रक्रियामा सामेल हुनुपर्ने समाचार सार्वजनिक भएपछि पीडित युवाहरू आन्दोलित बन्न पुगेका हुन्।
लामो समयको धैर्यता, मानसिक तनाव र ठूलो आर्थिक लगानी गरिसकेपछि पनि पुनः सुरुवाती चरणबाटै भाग्यको भर पर्नुपर्ने बाध्यता सिर्जना गरिएकाले आफूहरूमाथि ठूलो अन्याय भएको प्रदर्शनकारीहरूको गुनासो छ। वि . सं. २०८१ को गोलाप्रथा ( लकी ड्र ) मा छनोट हुन नसकेका तर सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका उम्मेदवारहरूलाई नयाँ खुल्ने कोटामा स्वतः समावेश गरिने आश्वासन वैदेशिक रोजगार विभागका उच्च अधिकारीहरूले निरन्तर दिँदै आएका थिए।