
सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा रहेका टहराहरू मंगलबार बिहान डोजर प्रयोग गरी हटाइएको छ । लामो समयदेखि सडकको क्षेत्राधिकार मिचेर सञ्चालनमा रहेका भौतिक संरचनाहरू हटाउन महानगरले डोजर चलाएको हो ।
पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण र सडक मापदण्ड कार्यान्वयनको अभियानमा आक्रामक बनेको महानगरले उक्त टहराहरूमाथि डोजर चलाएको हो । पोखराको मुख्य प्रवेशद्वारमै रहेका यी संरचनाले सहरको कुरुपता बढाएको ठहर गर्दै यो कदम चालिएको हो । नगर प्रमुख धनराज आचार्यले यस अभियानमा सहयोग पुर्याएकोमा व्यवसायीहरूलाई धन्यवाद दिएका छन् ।
विद्यालय प्रशासन र व्यवसायीबिच भविष्यमा नयाँ भवन बनेमा पुरानै व्यवसायीलाई प्राथमिकता दिने अनौपचारिक सहमति भएको छ ।स्थानीय सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि र व्यवसायीहरूबीच भएको सर्वपक्षीय बैठकको सहमतिअनुसार नै संरचना हटाउने निष्कर्षमा महानगर पुगेको हो ।
सहमतिलगत्तै व्यवसायीहरू आफैँले सटर र पसलका सामानहरू खाली गरिदिएका थिए । व्यवसायीहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारेपछि महानगरका डोजरले अतिक्रमित संरचनाहरू भत्काएको हो ।