२०८३ जेठ ३ , आइतवार

कामी रीता शेर्पाले गरे ३२औँ पटक सगरमाथाको सफल आरोहण

kamirita_9fIqfekMG4

सुनाखरी न्युज/ काठमाडौं ।

प्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले फेरि इतिहास रचेका छन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेका छन्। आज बिहान १०: १२ बजे उनले सफलतापूर्वक सगरमाथाको शिखरमा पाइला टेकेका हुन्। यो ऐतिहासिक उपलब्धिसँगै उनले आफैँले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत र नयाँ उचाइमा पुर्‍याएका छन्।

सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामी रीता शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च हिमाल आरोहीमध्ये एक बनाएको छ ।

उनलाई नेपाली मात्र होइन, विश्वभरका पर्वतारोहण समुदायले सगरमाथाको प्रतीक र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्दै आएका छन् । यस वर्षको सफल आरोहणपछि उनी सुरक्षित रूपमा आधार शिविर  ( बेस क्याम्प)  तर्फ फर्किँदै गरेको जनाइएको छ । आरोहण अभियानमा संलग्न कम्पनी सेभेन समिट ट्रेकले उनको सफलताको पुष्टि गर्दै सुरक्षित अवतरणको कामना गरेको छ ।

कामी रीता शेर्पाको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ । सगरमाथा आरोहणलाई जीवनको निरन्तर अभियान बनाएका उनले फेरि एक पटक विश्वलाई देखाएका छन् ।नले एकै सिजनमा दोहोर्‍याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् । विश्वभर ‘एभरेस्ट म्यान’ नामले पनि कहलिएका कामीरिताले आफ्नै रेकर्ड तोड्दै आइरहेका छन् ।