
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो दुई कारोबार दिनमा मात्रै सुनको भाउ प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको हो ।
महासङ्घले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ । यो शुक्रबारको तुलनामा ४ हजार ५ सय रुपैयाँले कम हो । शुक्रबार पनि सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबारको तुलनामा आइतबारसम्म आइपुग्दा सुनको मूल्यमा ८ हजार ५ सय रुपैयाँको गिरावट देखिएको हो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ६० रुपैयाँमा झरेको छ । शुक्रबार चाँदीको मूल्य ५ हजार ३९० रुपैयाँ रहेको थियो ।