२०८३ जेठ १ , शुक्रवार

हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा

balen-hark-768×384

सुनाखरी न्युज/ काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै साम्पाङले ४ वटा मुख्य कारण अघि सार्दै राजीनामा मागेका हुन् ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।

हर्कले उठाएका ४ कारण यस्ता छन् : 

. प्रधानमन्त्री नियुक्त भएदेखि आजका मितिसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेको ।

 .नीति तथा कार्यक्रममा छलफल हुँदा अनुपस्थित रहनु र नीति तथा कार्यक्रम बारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित भएको ।

. प्रतिपक्षीले संसदमा उपस्थित हुन माग गर्दा संसद्‍मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको

. राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह हलबाट बाहिरिएको र पुनः सभामा     नफर्किएको ।

साम्पाङले प्रधानमन्त्रीले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको जिकिर गरेका छन् । सांसद राईले जनताको सार्वभौम संस्थाको अपमान गर्ने प्रधानमन्त्री नैतिक रूपमा पदमा बसिरहन नसक्ने जिकिर गर्दै न्यूनतम जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाएका छन्। उनले नैतिकताको आधारमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन्। विज्ञप्तिमा वर्तमान सरकारले संसदलाई कमजोर बनाउँदै अध्यादेशको बाटोबाट शासन चलाउन खोजेको आरोप पनि लगाइएको छ। साथै सीमा सुरक्षा, जनजीविका र गरिब जनताको समस्याप्रति सरकार गम्भीर बन्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।