२०८३ जेठ १ , शुक्रवार

नेपालीलाई क्यासिनो प्रवेश रोक्न पर्यटन विभागको निर्देशन, १२ जिल्लामा विशेष निगरानी

casino

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई खेल खेलाएको गुनासो बढ्न थालेपछि पर्यटन विभागले पर्सासहित विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई कडा निगरानी गर्न निर्देशन दिएको छ ।पर्यटन विभागले विशेष परिपत्र जारी गर्दै क्यासिनोहरूको नियमित अनुगमन, सूक्ष्म निगरानी र कानुन कार्यान्वयनमा कडाइ गर्न आग्रह गरेको हो।

पछिल्लो समय केही क्यासिनोहरूले कानुनविपरीत नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने तथा स्वीकृतिबाहिरका खेल सञ्चालन गरिरहेको गुनासो बढेपछि सरकार सक्रिय बनेको हो। यस विषयमा प्रतिनिधिसभामा समेत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

पर्यटन विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षर गरिएको पत्र झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
विभागले पर्यटन ऐन, २०३५ र क्यासिनो नियमावली, २०८२ अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश तथा खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ । साथै, क्यासिनो सञ्चालकहरूले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको समेत पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

परिपत्रमा जिल्ला प्रशासन कार्यालयहरूलाई कानुनविपरीत नेपालीको प्रवेश वा अन्य अवैध गतिविधि हुन नदिन आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।विशेषगरी सीमावर्ती क्षेत्रका क्यासिनोहरूमा नेपालीको सहज पहुँच हुने भएकाले स्थानीय प्रशासनलाई थप सक्रिय बन्न आग्रह गरिएको छ। अब क्यासिनो प्रवेश गर्ने प्रत्येक व्यक्तिको परिचय खुल्ने कागजात अनिवार्य जाँच गरिने र विदेशी पर्यटकलाई मात्र प्रवेश दिने व्यवस्थामा कडाइ गरिने सरकारले जनाएको छ।