२०८३ जेठ १ , शुक्रवार

प्रतिपक्षीको बहिष्कार र विरोधबीच पास भयो नीति तथा कार्यक्रम

Parliament

सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको बैठकले  प्रतिपक्षी सांसदहरूको बहिष्कार र विरोधबीच सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आ-आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए।

प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित गरेको हो।

बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गर्नेमा नेकपा एमालेसहित नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू छन्।

एमालेबाहेक बाँकी तीन दलले सुरूमै बैठक बहिष्कार गरेका थिए। कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै विरोध जारी राखे।

विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा जबाफ दिन सुरू गरे। उनको जबाफ सकिएपछि नेकपा एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन्।