२०८३ बैशाख ३१ , बिहिवार

जेठमा पनि घट्यो बैंकहरूको ब्याजदर

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् ।

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । बिहीबार जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् ।

उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ ।

वैशाखको तुलनामा जेठमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा वैशाखको तुलनामा जेठमा ०.०५९५ प्रतिशत बिन्दुले झरेको छ । वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४०२५ प्रतिशत रहेकोमा जेठमा ४.३४३ प्रतिशतमा झरेको छ । मुद्दती निक्षेपको औसत ब्याजदर चैतको मूल्यवृद्धिभन्दा पनि कम हो ।