
सुनाखरी न्युज/ काठमाडौं ।
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बुधबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार उक्त आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाबाट आवेदन परेको थियो। तीमध्ये २९ लाख ३८ हजार ८२ जनाको आवेदन मात्र योग्य ठहरिएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार गोलाप्रथाबाट १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले सिन्धुपाल्चोकमा ७. २७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्।