
सुनाखरी न्युज/ काठमाडौं ।
लोकदोहोरी क्षेत्रमा बढ्दै गएको अश्लीलता र विकृतिप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कडा रूपमा उत्रिने भएको छ। संस्थाले आफ्नो उजुरीमा पछिल्लो समय युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालमा सार्वजनिक भएका केही गीतहरू अत्यन्तै अमर्यादित, अश्लील, द्विअर्थी र सांस्कृतिक मर्यादाविपरीत रहेको उल्लेख गरेको छ । गीत–संगीतमा विकृति भित्र्याउनेहरूलाई कुनै हालतमा नछोडिने लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्।
संस्थाले ब्युरो समक्ष उक्त गीतहरूको निर्माण तथा प्रसारणमा संलग्न व्यक्तिलाई पहिचान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाउन र भविष्यमा यस्ता सामग्री निर्माण नगर्ने कबुलनामा गराउन र सामाजिक सञ्जालबाट तत्काल हटाउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गरेको छ । नेपाली लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन हाम्रो साझा दायित्व हो ।
गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालको भाइरल लाइभ दोहोरी, गायिका ज्योति मगरको स्टेज प्रस्तुति र मोडल रिया खड्काले धार्मिक स्थलमा गरेको नृत्यलाई लिएर चौतर्फी आलोचना भएपछि प्रतिष्ठानले कानुनी कारबाहीको तयारी गरेको हो। गायक प्रकाश अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको लाइभ दोहोरीमा प्रयोग गरिएका शब्द र हाउभाउले नेपाली सभ्यतालाई गम्भीर चोट पुर्याएको ठहर गरिएको छ।
त्यस्तै, गुल्मीको महोत्सवमा गायिका ज्योति मगरले देखाएको ‘मर्यादा विपरीत’ को गतिविधि र मोडल रिया खड्काले धार्मिक क्षेत्रमा गरेको नृत्यले सांस्कृतिक आस्थामा खलल पुर्याएको भन्दै लोक सञ्चारकर्मी नेपालले समेत सोमबार विज्ञप्ति जारी गरी आपत्ति जनाएको थियो।