
सुनाखरी न्युज/ काठमाडौं ।
महिला सीप विकास जागरण समाज द्वारा आयोजित १५ दिने “प्लास्टिकका वैकल्पिक सामग्री उत्पादन तालिम कार्यक्रम” को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय को सहयोगमा सञ्चालन गरिएको हो। महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा २५ जना महिलाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ। तालिममार्फत प्लास्टिकका वैकल्पिक तथा वातावरणमैत्री सामग्री उत्पादन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिनेछ।
कार्यक्रमकी सभापति तथा अनिता ठाकुरी, अध्यक्ष, महिला सीप विकास जागरण समाजले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै महिलाहरूलाई आर्थिक रूपमा सक्षम, स्वरोजगारमुखी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले महिलाको सीप विकासले परिवार र समाज दुवैको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि माननीय उद्धव थापा, बागमती प्रदेश सभा सदस्यले महिला सशक्तिकरण र सीप विकासका कार्यक्रमहरू समाज रूपान्तरणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि महिला सीप विकास जागरण समाज लाई महिला विकास तथा सीप अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि चन्दा व्यञ्जनकार, महिला विकास अधिकृत, सामाजिक विकास शाखा ललितपुरले महिलाहरूलाई व्यावहारिक तथा आयआर्जनमुखी तालिमसँग जोड्नु आजको आवश्यकता भएको बताउनुभयो। त्यसैगरी अतिथि मैयाँ लक्ष्मी महर्जन, नगर कार्यपालिका सदस्य तथा वडा सदस्यले महिलाको क्षमता विकासका यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालन रीना श्रेष्ठ, कार्यक्रम सञ्चालक तथा सदस्य, महिला सीप विकास जागरण समाजले गर्नुभएको थियो भने स्वागत मन्तव्य सरस्वती विश्वकर्मा, सचिव, महिला सीप विकास जागरण समाजले राख्नुभएको थियो। त्यसैगरी धन्यवाद ज्ञापन ज्ञानु अधिकारी, सदस्य, महिला सीप विकास जागरण समाजले गर्नुभएको थियो। उक्त तालिमले महिलाहरूलाई वातावरणमैत्री सामग्री उत्पादनतर्फ प्रेरित गर्नुका साथै स्वरोजगार सिर्जना, आर्थिक सशक्तिकरण तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।