२०८३ बैशाख २८ , सोमवार

राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित, कांग्रेसले गर्‍यो बहिष्कार

PM-Balen–768×419

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समिति को बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ । सुकुम्वासी बस्ती खाली गराइएको सन्दर्भ र मुलुकको सुरक्षा प्रशासनका विषयमा प्रधानमन्त्रीसँगै सिधा जवाफ माग्नुपर्ने अडान राख्दै कांग्रेसले सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक छाडेको हो ।समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव बैठकमा छन् ।

कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्री नै उपस्थित नभएपछि चिया खाएर गफ गर्न मात्र समितिको बैठकमा जानुको कुनै औचित्य नरहेको भन्दै कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले प्रधानमन्त्रीले नै गृहमन्त्रीको भूमिका निर्वाह गरिरहेकाले उहाँ आफैँ उपस्थित भएर जवाफ नदिएसम्म बैठकमा नफर्कने स्पष्ट पार्नुभयो ।

समिति सभापति हरि ढकाललाई पटक- पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीलाई उपस्थित गराउन नसकेको भन्दै विपक्षी दलले असन्तुष्टि पोखेको छ । सुकुम्वासी समस्या र समसामयिक सुरक्षा चुनौतीका विषयमा कार्यकारी प्रमुखको जवाफ अनिवार्य रहेको कांग्रेसको तर्क छ ।प्रधानमन्त्री बालेन्द्र शाह को लगातार अनुपस्थितिका कारण समिति बैठक दोस्रो पटक प्रभावित भएको छ । यसले संसद् समिति स्तरमा सरकार र प्रतिपक्षबीचको तनाव थप बढेको देखिएको छ ।