
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनका लागि आईटीको टिमले काम गरिरहेको छ ।
‘बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजा प्रकाशनको गृहकार्य भइरहेको बताए । उनले भने, ‘नतिजा प्रकाशनको तयारीका लागि आज वा भोलि बोर्ड बैठक बस्छ ।’विगतमा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो । एसइई गत चैत २९ गते सकिएको थियो ।
नयाँ सरकार गठनपछि सुरु भएको एसइईको नतिजा सुरुमा १५ दिनभित्रै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो । निकै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्र सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबिच छलफल भएको थियो ।
परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जनाले फाराम भरेका थिए । तीमध्ये कति जना परीक्षामा सहभागी भए भन्ने यकिन तथ्याङ्क नतिजा सार्वजनिक भएको दिन मात्रै थाहा हुने छ । फाराम भरेकामध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् । परीक्षा बोर्डले दिएको जाकारी अनुसार एसईईको नतिजा १४ वटा फर्म कम्पनीको वेभ साईडबाट हेर्न सकिने छ भने ३ वटा कम्पनी फर्मको एसएमएसबाट प्राप्त गर्न सकिनेछ ।
