२०८३ भदौ २१ , आइतवार

गायक रामकृष्ण ढकालले प्रहरीमा दिए उजुरी

RAMKRISHNA-DHAKAL

सुनाखरी न्युज/ काठमाडौं ।

गायक रामकृष्ण ढकाल ले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरिएको, गालीगलौज तथा मानहानीपूर्ण सामग्री फैलाइएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। आफूविरुद्ध भ्रामक प्रचार र मानहानि भएको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते नक्खु कारागारबाट रिहा भएका रवि लामिछानेलाई लिन गायक ढकाल आफ्नै कार लिएर पुगेका थिए।

सोही घटनालाई लिएर सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ।उनले फेक आइडी तथा विभिन्न पेजमार्फत घृणा फैलाउने, भ्रामक सामग्री पोस्ट गर्ने र आफ्ना चलचित्र तथा अन्य प्रोजेक्टलाई समेत लक्षित गरी मानसिक तनाव दिने व्यक्तिहरूबारे डिजिटल प्रमाणसहित विवरण बुझाएको बताएका छन्। ढकालले सामाजिक सञ्जालमा आलोचना र बहिष्कार व्यक्तिगत स्वतन्त्रताभित्र पर्ने उल्लेख गर्दै हद नाघेर मानहानी, चरित्र हत्या र धम्की दिनेहरूमाथि मात्र कानुनी प्रक्रिया अघि बढाइएको स्पष्ट पारेका छन्।

पछिल्लो समय रवि लामिछाने लाई नख्खु कारागारबाट निकाल्ने क्रममा गाडी चलाएको विषयलाई लिएर सामाजिक सञ्जालमा ढकालको आलोचना चुलिएको थियो। त्यसयता उनीविरुद्ध विभिन्न पोस्ट र भिडियोहरू भाइरल भइरहेका छन्। घृणा फैलाएर आफूलाई मानसिक तनाव दिने फेसबुक आईडीहरुबारे अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न उनले माग गरेका छन् ।