२०८३ बैशाख २४ , बिहिवार

गरिब जोखिममा रहेका लाई ऋण लिएर भए पनि राहत दिन नेपाललाई एडीबीको सुझाव

Park-albert-1024×768

सुनाखरी न्युज/ उज्बेकिस्तान ।

एसियाली विकास बैंक (एडीबी) ले  पश्चिम एसियामा जारी स‌ंकट लामो समय जाने आकलन गर्दैयसबाट गरिब तथा जोखिममा रहेको जनसंख्या सबैभन्दा प्रभावित हुने बताएको छ ।

उज्बेकिस्तानको समरकन्दमा ५९औं वार्षिक सम्मेलनमा एडीबीका प्रमुख अर्थशास्त्री डा। अल्बर्ट एफ पार्कले पश्चिम एसियाको युद्ध अस्थायी झट्कामात्र नभई द्वन्द्वको लामो शृङ्खला (स्थायी परिवर्तन) को दिशामा अघि बढेको बताए ।

 

यसबाट इन्धनमात्र नभई रासायनिक मल एवं अन्य धेरै वस्तुको मूल्य बढेको भन्दै उनले यसबाट गरिब तथा वञ्चितीकरणमा परेका घरपरिवार सबैभन्दा बढी प्रभावित भएको बताए ।

यस्तो अवस्थामा सरकारले गरिब तथा जोखिममा रहेका परिवारलाई लक्ष्यित गर्दै सहुलियत दिनुपर्ने उनको भनाइ छ । नेपालले त्यस किसिमको कुनै पनि सहुलियत नदिएको तथा नेपालमा इन्धनको मूल्य दक्षिण एसियामै महँगो रहेको अनलाइनखबरको जिज्ञासामा उनले सबैभन्दा जोखिममा रहेको समूहका लागि काम गर्नु सरकारको दायित्व रहेको बताए ।

 

‘यो बेला आवश्यक परेका जनतालाई राहत दिनु चुनौतीपूर्ण छ, तर सबैभन्दा जोखिममा रहेका जनतालाई सहयोग गर्न सरकारले स्रोत परिचालन गर्नुपर्छ,’ एडीबीका प्रमुख अर्थशास्त्री पार्कले भने, ‘यस्तो बेला एडीबी तथा अन्य दाताले समेत सरकारलाई स्रोत उपलब्ध गराउने विषयमा सहयोग गर्छन् ।’

यस्तो अवस्थामा एडीबीले बजेटरी सपोर्ट सुविधा मार्फत सरकारहरूलाई सहयोग गर्ने गरेको उनले बताए । ‘खासगरी उच्च मूल्यवृद्धि वा विपद्सँग जुध्ने र सबैभन्दा बढी जोखिममा रहेका जनतालाई संरक्षण गर्न सरकारलाई स्रोत चाहियो भने हामीले यस्तो स्रोत उपलब्ध गराउँछौं,’ उनले भने, ‘यो संकट सम्बोधन गर्न सरकारले त्यस्तो स्रोत लिन सक्छ ।’

सोही प्रश्नमा एडीबीका डेपुटी चिफ इकोनोमिस्ट अब्दुल अबिदले यो संकटले धेरै राष्ट्रलाई ऊर्जाको वैकल्पिक स्रोतबारे सोच्न बाध्य बनाएको बताए ।

‘यसले मुलुकहरूलाई ऊर्जाको स्रोत विविधीकरण गर्ने बाटोमा धेकेलेको छ, खासगरी नवीकरणीय उर्जाका स्रोतमा लगानी बढाउनुपर्छ,’ उनले भने, ‘त्यसो भएको खण्डमा यस्तो बेला तपाईंमाथिको जोखिम कम हुन्छ ।’

तर, राहत दिने नाममा सबै इन्धनमा अनुदान होइन कि गरिब तथा जोखिममा रहेका जनतालाई नगद अनुदान उपलब्ध गराउन पनि एडीबीले सुझाव दिएको छ ।