
सुनाखरी न्युज/ काठमाडौं ।
वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको स्थलगत प्रदूषण स्तर मापनका लागि स्थलगत जाँच अभियान सुरु गरेको छ।बुधबार बबरमहल क्षेत्रमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदूषण परीक्षण गरिएको हो।
काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा जाँच प्रक्रिया अघि बढाइएको हो।
जाँचका क्रममा सवारीसाधनबाट निस्कने धुवाँको स्तर परीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत निरीक्षण गरिरहेको विभागले जनाएको छ। परीक्षणका क्रममा प्रदूषण मापदण्ड पूरा गर्न नसकेका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
प्रदूषण परीक्षणमा असफल भएका सवारीसाधनको रुट इजाजत मापदण्ड उत्तिर्ण नहुन्जेलसम्मका लागि निलम्बन गरिने प्रावधान रहेको छ। त्यस्ता सवारीसाधनले आफूसँग रहेका यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पुर्याएपछि पुनः सडकमा गुडाउन पाउने छैनन्।यात्रुहरूलाई गन्तव्यसम्म पुर्याएपछि ती सवारी पुनः सडकमा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।
विभागका अनुसार मर्मतपश्चात पुनः परीक्षणमा उत्तीर्ण भएपछि मात्र सवारी सञ्चालनको अनुमति दिइनेछ। सवारी धनीले आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदूषण जाँच गराएर मापदण्ड पूरा गरेको सुनिश्चित भएपछि मात्र सवारीसाधन सञ्चालनको अनुमति पाउने विभागले जनाएको छ।