
सुनाखरी न्युज/ काठमाडौं ।
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीका अनुसार वैशाख २३ गतेदेखि सुरु भएको आवेदन प्रक्रिया वैशाख २८ गतेसम्म खुला रहनेछ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो। यसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।यस्तै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २१ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट ‘सी-आस्बा’ प्रणाली मार्फत सहजै आवेदन दिन सक्नेछन्। ८ मेगावाट क्षमताको यस टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अब २५ वर्ष ४ महिना बाँकी रहेको छ।