
सुनाखरी न्युज/ काठमाडौं ।
ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल ( भ्यूटावर ) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो । “सबै फूल एकैपटक फूल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दोरहेछ । म त उत्तै बसिरहुँ लाग्यो”, पोखराबाट आउनुभएकी शारदा सुवेदीले भन्नुभयो, “पर्यटक लोभिदा रहेछन् । अलिकति बाटोचाहिँ बनाउनै बाँकी रहेछ ।”
वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया । यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन् । याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ । “फोटो खिच्न, भिडियो बनाउनमात्र होइन यहाँबाट देखिने सूर्योदय, सूर्यास्त हेर्न, हिमशृङ्खला नियाल्न र इलाम, पाँचथर, तेह्रथुम, झापासहित भारत पश्चिम बङ्गालका सिक्किम, दार्जिलिङलगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक आइपुग्छन् ।” गुफापाताल पर्यटन समितिका सचिव विजय लावतीले भन्नुभयो । “नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन् । भारततिरका पर्यटकलाई यहाँ आउन सजिलो छ ।”
तीन किलोमिटिर सडक कच्ची भएका कारण नेपालपट्टिको बाटो पर्यटकलाई असहज भएको हो । तर, ढुङ्गाको सोलिङ गरिएको छ । पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो । मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्रीअन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवाचोक पुगिन्छ । त्यहाँबाट अन्तु रोड छोडेर सिधैँ उत्तर लाग्दा करिब छ किलोमिटरमा गुफापाताल छ । सीमाक्षेत्र पशुपतिनगरबाट भारत भएर मेची बजार हुँदै कालोपत्रमै गुफापाताल निस्किन सकिन्छ ।
“दुई हजार ६०० मिटर सडक कालोपत्र सकिएको छ । अब, तीन किलोमिटर सडक निर्माण सकिँदा गुफापातालसम्म कालोपत्र पुग्छ ।” वडाध्यक्ष सरन राईले भन्नुभयो, “यहाँ वनावटिपन केही छैन । सबै चिज प्राकृतिक हो । चिसो हावा, फूलहरूको सुगन्ध र सुन्दर दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटक आकर्षित भइरहेका छन् । पूर्वाधार विकास पनि भइरहेको छ ।” यो सीमा क्षेत्र हो । यहाँ नजिकै मेची नदीको मुहान छ । भारत र नेपालको सीमामा रहेको मेची नदीको मुहानमा स्थानीयले पूजा गर्छन् । वर्षौँदेखि स्थानीयले सीमारक्षा गर्दै आएको वडाध्यक्ष राईले बताउनुभयो । (रासस)