२०८३ बैशाख २२ , मंगलबार

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

688547276_1441137411375968_3540285850281804466_n-696×464

 

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । ओमानसँग मंगलबार खेल्दै गर्दा नेपालले कमीकमजोरीहरू सुधार गर्दै पहिलो खेलको हारको बदला लिएर शृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

घरेलु मैदानमा जारी यस शृङ्खलामा ओमानसँगको अघिल्लो खेलमा पराजय बेहोरेको नेपाल आज सो हारको बदला लिने दाउमा छ। नेपालले यसअघि संयुक्त अरब इमिरेट्स ( यूएई)  लाई पराजित गरेको थियो ।नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृंखलाको लय महत्त्वपूर्ण हुनेछ ।

लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २४ खेलमा १४ अंक छ ।यही शृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले यूएईसँगको दुवै खेल जितिसकेको छ । अब ओमानलाई पनि हराएर नेपाल शृंखलामा तेस्रो जितको खोजीमा हुनेछ ।

नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ९ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा पाँच खेलमा पराजित भएको छ । एक खेल रद्द भएको थियो । कीर्तिपुरमा भने यी दुई टोली ४ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले ३ खेल जितेको छ ।