
सुनाखरी न्युज/ काठमाडौं ।
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ ।
भारतको पन्जाब, हरियाणा, हिमान्चल, उत्तराखण्ड हुँदै सुदूरपश्चिमको लगभग सबै भागमा मेघगर्जनसहित पानी पार्ने बादल प्रवेश गरेको छ । त्यसले सुदूरपश्चिम र आसपासका क्षेत्रमा पानी पारिरहेको छ । सो प्रणालीको प्रभाव लुम्बिनी प्रदेशका जिल्लाहरुमा सरिरहेको छ । जसका कारण आज दिनभरजसो बादल लाग्ने र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि देशभर बादल लाग्नुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद ढकालका अनुसार यो साताभर देशका विभिन्न भागमा चट्याङसहित पानी पर्ने सम्भावना छ । उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।